Rule 52
म्याद जारी गर्ने कार्यविधि
(१) ऐन अन्तर्गतको कसूरको सिलसिलामा भन्सार अधिकृत वा निजले अधिकार प्रदान गरेको भन्सार कार्यालयको अन्य अधिकृतले सम्बन्धित व्यक्तिका नाममा ऐनको दफा ८१ को उपदफा (१) बमोजिम शुरु म्याद जारी गर्दा बाटोको म्याद बाहेक पन्ध्र दिनको अवधि तोकी अनुसूची–१० बमोजिमको ढाचामा जारी गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम जारी भएको म्याद तामेल गर्दा सम्बन्धित व्यक्ति वा निजका एकाघर परिवारका उमेर पुगेका कुनै सदस्यलाई बुझाई तामेल गर्नु पर्नेछ । सम्बन्धित व्यक्ति वा निजको एकाघर परिवारको उमेर पुगेको कुनै सदस्य फेला नपरेमा वा फेला परे पनि म्याद बुझिलिन इन्कार गरेमा सोही व्यहोरा जनाई स्थानीय दुईजना व्यक्तिलाई रोहवरमा राखी सम्बन्धित व्यक्तिको घर वा डेराको ढोकामा म्याद टाँस गरिदिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम जारी भएको म्याद तामेल गर्न जाने कर्मचारीले सम्बन्धित व्यक्तिको घर डेरा पत्ता नलागेमा सोही व्यहोरा जनाई सम्बन्धित स्थानीय निकायको कुनै सदस्य वा प्रतिनिधि वा कुनै दुईजना स्थानीय व्यक्तिलाई रोहवरमा राखी त्यस्तो म्याद गाउ विकास समितिको हकमा सम्बन्धित गाउँपालिकाको कार्यालयमा र नगरपालिकाको हकमा सम्बन्धित व्यक्तिको घर वा डेरा भएको वडाको वडा कार्यालयमा र त्यस्तो वडा कार्यालय नभएको अवस्थामा सार्वजनिक स्थानमा टाँस गर्नु पर्नेछ र सो बमोजिम म्याद टाँस भएपछि त्यस्तो म्याद रीतपूर्वक तामेल भएको मानिनेछ ।
(४) कुनै फर्म, कम्पनी वा संगठित संस्थाको नाममा जारी भएको म्याद तामेल गर्दा त्यतो फर्म, कम्पनी वा संगठित संस्थाको सञ्चालक वा व्यवस्थापक वा त्यस्तो संस्थाको प्रमुख व्यक्ति वा त्यस्तो संगठित संस्थाको अधिकारप्राप्त अधिकारीलाई म्याद बुझाइदिनु पर्नेछ । त्यस्तो व्यक्ति फेला नपरेमा वा फेला परे पनि म्याद बुझिलिन इन्कार गरेमा सोही व्यहोरा जनाई स्थानीय दुईजना व्यक्तिलाई रोहवरमा राखी त्यस्तो संगठित संस्थाको कार्यालयको ढोकामा म्याद टास गरिदिनु पर्नेछ र यसरी टा“स भएपछि त्यस्तो म्याद रीतपूर्वक तामेल भएको मानिनेछ ।
(५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिको नाममा जारी भएको म्याद तामेल गर्दा त्यस्तो व्यक्तिकोे ठेगानामा हुलाकमार्फत रजिष्ट्रि गरी पठाएमा वा त्यस्तो व्यक्तिकोे टेलीफ्याक्समा वा विद्युतीय ठेगानामा पठाएमा त्यस्तो म्याद रीतपूर्वक तामेल भएको मानिनेछ ।
(६) उपनियम (२), (३) वा (४) बमोजिम म्याद तामेल गर्न जाने कर्मचारीले बाटोको म्यादबाहेक तीन दिनभित्र म्याद तामेल गर्नु पर्नेछ ।
(७) उपनियम (२), (३), (४) वा (५) बमोजिम म्याद तामेल हुन नसकेको प्रतिवेदन पर्न आएमा सो म्याद रेडियो, टेलिभिजन, विभाग वा सम्बन्धित भन्सार कार्यालयको वेवसाइट जस्ता विद्युतीय सञ्चार माध्यममा प्रशारण वा प्रकाशन वा राष्ट्रियस्तरको कुनै दैनिक पत्रपत्रिकामा प्रकाशन गरेर म्याद तामेल गर्न सकिनेछ । त्यसरी सूचना प्रशारण वा प्रकाशन भएको अवस्थामा त्यस्तो सूचना प्रकाशन भएका मितिले पाँचौं दिनपछि सम्बन्धित व्यक्तिको नाममा यस नियमावली बमोजिम रीतपूर्वक म्याद तामेल भएको मानिनेछ ।
(८) उपनियम (७) बमोजिम म्याद तामेल गर्दा लागेको खर्च भन्सार कार्यालयले सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असुल उपर गरि लिनेछ ।